विवादास्पद नियुक्तिपछि बेलायती प्रधानमन्त्रीका शक्तिशाली सहयोगीले दिए राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
2k
Shares
काठमाडदँ । अमेरिकी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध भएका पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गरेपछि उत्पन्न विवादका कारण बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) मोर्गन म्याकस्वीनीले आइतबार राजीनामा दिएका छन्।
डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ म्याकस्वीनीले एक विज्ञप्ति जारी गर्दै गहिरिएर सोचेपछि आफूले सरकारबाट अलग हुने निर्णय गरेको बताएका हुन्। उनले पिटर म्यान्डेलसनलाई नियुक्त गर्ने निर्णय गलत भएको स्वीकार गर्दै यसले पार्टी, देश र राजनीतिमाथिको विश्वासमा क्षति पुर्याएको उल्लेख गरे।
म्याकस्वीनीले राजदूत नियुक्तिका लागि आफूले नै प्रधानमन्त्रीलाई सल्लाह दिएको र त्यसको पूर्ण जिम्मेवारी पनि आफैँले लिने बताएका छन्। म्यान्डेलसन र एपस्टीनको सम्बन्धलाई लिएर बेलायती राजनीतिमा तीव्र आलोचना भइरहेका बेला यो राजीनामा आएको हो।
आयरल्यान्डका बासिन्दा म्याकस्वीनीले सन् २०२४ मा स्टार्मरलाई प्रभावशाली चुनावी विजय दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनलाई पछिल्लो समय बेलायती राजनीतिका 'सबैभन्दा शक्तिशाली व्यक्ति' मध्ये एक मानिने गरिएको थियो।
लेबर पार्टीका पूर्वनेता जेरेमी कोर्बिनको कार्यकालपछि पार्टीलाई पुनः मध्यमार्गी नीतिमा ल्याउन र सत्तासम्म पुर्याउन म्याकस्वीनीको ठुलो योगदान रहेको श्रेय उनलाई दिइन्छ।
प्रधानमन्त्री स्टार्मरका विश्वासपात्र मानिने उनको बहिर्गमनले वर्तमान सरकारलाई राजनीतिक रूपमा केही असहज बनाउन सक्ने अनुमान गरिएको छ। म्याकस्वीनीको राजीनामासँगै म्यान्डेलसनको नियुक्तिको विषयले थप चर्चा पाएको छ भने विपक्षीहरूले प्रधानमन्त्रीको निर्णय क्षमतामाथि प्रश्न उठाएका छन्।