बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
494
Shares
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बेलायतकी ‘इण्डो प्यासिफिक’ मन्त्री सीमा मल्होत्राले आराध्यदेव पशुपतिनाथको दर्शन गरेकी छन्। बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवीदेवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिएका छन्।
पशुपतिनाथको विधिपूर्वक दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्। पशुपतिनाथ र यहाँ अवस्थित प्राचीन मठ, मन्दिरहरूको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराएका थिए।
मन्दिरको दर्शन गरिसकेपछि कोषको आगन्तुक पुस्तिकामा आफ्नो अनुभव लेख्दै उनले पशुपतिनाथमा धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आफूलाई निकै आनन्द प्राप्त भएको उल्लेख गरेकी छन्। यसअघि मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवर लगायत वरिष्ठ कर्मचारीहरूले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेका थिए।
गत शुक्रबार नेपालको औपचारिक भ्रमणका लागि आएकी मन्त्री मल्होत्राले शनिबार कपिलवस्तुस्थित ऐतिहासिक स्थल तिलौराकोटको पनि भ्रमण गरेकी थिइन्।