कांग्रेस सभापति थापा निर्वाचन समीक्षाका लागि आज विराटनगर जाँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाँदैछन्। निर्धारित तालिकाअनुसार उनी बिहान ९:५० बजे त्यसतर्फ प्रस्थान गर्ने र बिहान १०:३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने जानकारी पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले दिएकी छिन्।
पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको विश्लेषण र आगामी राजनीतिक रणनीति तय गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमिति, सांसदहरू, जिल्ला तथा क्षेत्रीय सभापतिहरू र गत निर्वाचनका उम्मेदवारहरूको सहभागिता रहनेछ।
कांग्रेसले यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठकहरू सम्पन्न गरिसकेको छ भने आज कोसी प्रदेशमा यसलाई निरन्तरता दिन लागिएको हो। पार्टी नेतृत्वले यो कार्यक्रममार्फत स्थानीय तहदेखि नै संगठनको वास्तविक अवस्था, चुनावी कमजोरी र सुधारका उपायहरूबारे प्रत्यक्ष सुझाव संकलन गर्ने अपेक्षा राखेको छ।
यसका साथै बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत गहन छलफल हुने बताइएको छ। कांग्रेसले यी प्रदेश स्तरीय कार्यक्रमहरूलाई केवल चुनावी हार-जीतको विश्लेषणमा मात्र सीमित नराखी संगठन पुनर्जागरण अभियानको रूपमा अघि बढाएको छ, जसले कोसी प्रदेशमा पार्टीको आगामी दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।