कांग्रेसले थाल्यो प्रदेश नेतृत्वसँग सानेपामा मन्थन
गगन थापाको अध्यक्षतामा बैठक शुरू
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
1.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशका शीर्ष नेतृत्वसँग पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष छलफल शुरू गरेको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा जारी यस बैठकमा प्रदेश सभापतिहरू, कांग्रेस नेतृत्वका मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरूको सहभागिता रहेको छ।
आइतबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक निर्धारित समयभन्दा केही ढिला गरी शुरू भएको हो।
बैठकमा विशेषगरी आगामी राजनीतिक कार्यदिशा, पार्टीको साङ्गठनिक सुदृढीकरण र प्रदेश सरकार तथा पार्टीबीचको समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल हुने नेताहरूले बताए।
छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पार्टीका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको छ। कांग्रेसले नेतृत्व गरिरहेका प्रदेशहरूमा सुशासन कायम गर्ने र मन्त्रालयको सङ्ख्या घटाएर प्रशासनिक खर्च कम गर्ने विषयलाई समेत बैठकले प्राथमिकतामा राखेको बुझिएको छ।