काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो पर्यटकीय गन्तव्यको पहिचानबाट मुक्त गरी उच्च मूल्य र दिगो विकासमा आधारित 'प्रिमियम आरोग्य गन्तव्य' का रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केवल पर्यटकको सङ्ख्या गनेर मात्र देशको आर्थिक समृद्धि नहुने बरु उनीहरूले पाउने अनुभवको गहिराइ र आम्दानीको गुणस्तर महत्वपूर्ण हुने स्पष्ट पारे। आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने र लामो समय बस्ने भएकाले नेपालका हिमालय, पवित्र नदी र प्राचीन योग परम्परालाई विश्वबजारमा अद्वितीय 'प्रिमियम प्रोडक्ट' का रूपमा लैजानुपर्ने उनको तर्क छ।
सभामुख अर्यालले नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ अर्थात् अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मान्यता दिनुलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे। यो दिवस केवल औपचारिकता मात्र नभई मानव सभ्यतालाई पुनः प्रकृतिसँग जोड्ने र आत्मिक शान्तितर्फ फर्काउने सशक्त सन्देश भएको उनको भनाइ छ।
आरोग्यको अवधारणालाई उनले शारीरिक र मानसिक स्वास्थ्यका साथै सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलनको समग्र अवस्थाका रूपमा परिभाषित गरे। नेपालको हजारौँ वर्ष पुरानो योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सहअस्तित्वको परम्परा आफैँमा आरोग्यको उत्कृष्ट उदाहरण भएको उनले उल्लेख गरे।
विश्वभर आरोग्य पर्यटन खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइरहेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको उनले औँल्याए। पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताए।
प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुखले यसका लागि स्पष्ट राष्ट्रिय नीति, गुणस्तरीय पूर्वाधार र स्थानीय समुदायको सक्रिय साझेदारी अनिवार्य रहेको बताए। पर्यटनलाई केवल व्यापारको रूपमा मात्र नहेरी राष्ट्रिय पहिचान र गौरवको विषय बनाएर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।