काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन्।
तामाङलाई उनीहरूले कुटपिट गरी हत्या गरेको सूचना स्थानीयले दिएलगत्तै प्रहरी चौकी बोयाँबाट टोली खटिएको थियो। बुधबार पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाइएको छ।