arrow

जनप्रतिनिधिको नमुना: वडाध्यक्ष तामाङको गाई फार्मबाट मासिक ३० हजार आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
bhojpur-wadadakchaya.jpg

काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ यतिबेला जनताको सेवा र व्यावसायिक गाईपालनमा एकसाथ व्यस्त छन्। जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै उनले उत्पादनमूलक क्षेत्रमा लागेर समाजलाई आत्मनिर्भर बन्ने सन्देश दिएका हुन्।

तामाङले सञ्चालन गरेको फार्ममा हाल चारवटा उन्नत जातका गाई छन्। आधुनिक र व्यवस्थित तरिकाले गाईपालन गरिरहेका उनले दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। सबै खर्च कटाएर मासिक २५ देखि ३० हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताए।

सरकारी जिम्मेवारी र व्यक्तिगत व्यवसायलाई सँगसँगै लैजान सकिने तामाङको अनुभव छ। “समय व्यवस्थापन गर्न सकियो भने दुवै क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ,” उनले भने, “युवाहरू वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमै केही गरेर देखाउनुपर्छ भन्ने मेरो मुख्य उद्देश्य हो।”

गाईपालन मात्र होइन, उनले फार्मबाट निस्कने प्राङ्गारिक मलको सदुपयोग गर्दै करिब ३०० रोपनी क्षेत्रमा किबी खेती समेत विस्तार गरेका छन्। उनको यो व्यावसायिक यात्रामा परिवारका सदस्यहरूले पनि पूर्ण सहयोग गर्दै आएका छन्।

वडाध्यक्ष आफैँ कृषिमा सक्रिय भएपछि स्थानीय किसानहरू पनि उत्साहित भएका छन्। हाल श्यामशिलाका ३९ जना किसानले उन्नत जातका गाई पाल्न सुरु गरेका छन्। तामाङको फार्म अवलोकन गर्न आउने स्थानीयहरूले व्यावसायिक पशुपालनका प्राविधिक जानकारी लिने गरेका छन्, जसले गाउँस्तरमै आयआर्जन र रोजगारीको सम्भावना बलियो बनाएको छ।

पौवादुङमा गाउँपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम र अनुदान सञ्चालन गरिरहेको छ। यस्तो अवस्थामा जनप्रतिनिधि नै उत्पादनमा जोडिनुलाई सकारात्मक सङ्केतका रूपमा हेरिएको छ।

तामाङले आगामी दिनमा गाईको सङ्ख्या थपेर फार्म विस्तार गर्ने र दूधसँगै अन्य दुग्धजन्य पदार्थ उत्पादन गर्ने सोच बनाएका छन्। गाउँमै बसेर मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका तामाङले युवाहरूलाई माटो र पशुपालनमा भविष्य खोज्न आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ