भोजपुर । भोजपुर सदरमुकाम र वरपरका ६ वटा वडामा 'एक घर एक धारा' अभियान सफल भएसँगै स्थानीयको वर्षौँदेखिको खानेपानी समस्या समाधान भएको छ। सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अनुसार यस आयोजनामार्फत भोजपुर नगरपालिकाका ५, ६, ७, ८, ९ र १२ का २ हजार ६५० घरधुरीमा धारा जडान गरिएको छ।
भुल्के, डढुवा, जोरसाघु, तीनधारे र तीन भङ्गाले गरी पाँचवटा विभिन्न मुहानबाट पानी सङ्कलन गरेर वितरणको व्यवस्था मिलाइएको छ। उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि आयोजनाले दुईवटा आधुनिक पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) समेत सञ्चालनमा ल्याएको छ।
समितिका अध्यक्ष तुफान किरातका अनुसार १० हजार ९५ लिटर क्षमताका ११ वटा ट्याङ्कीमार्फत वितरण प्रणालीलाई व्यवस्थित गरिएको छ। सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब ५० करोड रुपैयाँको लागतमा २०७८ चैतमा निर्माण सम्पन्न भएको यो आयोजनाले अहिले भोजपुर बजारको मुहार नै फेरिदिएको छ। विगतमा एक गाग्रो पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता हटेपछि स्थानीय नागरिकहरू हर्षित भएका छन्।