arrow

आधुनिक बाजाको बढ्दो आकर्षणले भोजपुरमा पञ्चेबाजा लोप हुने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
bhojpur-pancheybaja.jpg

भोजपुर । आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन भोजपुरमा हराउँदै गएको छ। पुस्तान्तरणको अभाव, बजाउने सीप भएका व्यक्तिहरूको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा यो मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ।

स्थानीय नीरबहादुर परियारले बजारमा आधुनिक बाजाको सहज पहुँचसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चेबाजाको प्रयोग घट्दै गएको बताए। पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्रको प्रयोग हुने गर्छ। हाल गाउँघरमा यस्ता वाद्य तथा बजाउने सीप भएका व्यक्तिहरू पाउनै कठिन भएको उनको भनाइ छ। परियारले भने, "पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन गुन्जिन्थ्यो, तर अचेल आधुनिक डिजे बाजाले ठाउँ ओगटेपछि परम्परागत बाजा बजाउने चलन हराउँदै गएको छ।”

स्थानीय बद्रीप्रसाद अधिकारीले नेपालकै मौलिकता झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा यसले संरक्षणको जोखिम थपेको बताए। उहाँका अनुसार पञ्चेबाजाको संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ। अधिकारीले यो सीपलाई अन्य समुदायमा पनि हस्तान्तरण गर्नसके बाजाको प्रयोग बढ्ने र लोप हुने अवस्था हट्ने बताउँदै यसको संरक्षणमा प्रदेश र स्थानीय सरकार दुवैले ध्यान दिन जरुरी रहेको धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ