चालीस हजार घुससहित पक्राउ परेका सशस्त्रका इन्स्पेक्टरमाथि अनुसन्धान जारी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
999
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट घुससहित पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि अनुसन्धान भइरहेको जनाएको छ ।
पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन् । आयोगको टोलीले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, धनुषामा कार्यरत निरीक्षक विकल अधिकारीलाई घुसको रकमसहित नियन्त्रणमा लिएको थियो ।
धनुषाको कमला–ढल्केवर–बागमती सडक निर्माणअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, काममा अवरोध गर्ने तथा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस माग्ने गरेको उजुरी परेकोमा बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले निरीक्षक अधिकारीलाई सेवाग्राहीसँग ४० हजार घुस लिइसकेको अवस्थामा धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट पक्राउ गरेको थियो ।