गृहमन्त्री गुरुङले गरे त्रिभुवन विमानस्थलको अनुगमन
विदेशबाट फर्कनेलाई दुःख नदिन कर्मचारीलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
651
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन्।
विमानस्थलमा सर्वसाधारणले भोग्नुपरिरहेको असुविधा र पटक–पटक आएका गुनासोहरूलाई सम्बोधन गर्न उनले हिजो साँझ आफ्नो टोलीसहित स्थलगत निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको झन्झट वा असुविधा नहुने वातावरण सुनिश्चित गर्न त्यहाँ कार्यरत कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।
विशेष गरी विदेशबाट फर्कने नेपाली नागरिकहरूले आफ्नै देशको विमानस्थलमा दुःख पाउनु दुःखद भएको उल्लेख गर्दै उनले यस्ता गुनासाहरू भविष्यमा नदोहोरिने गरी काम गर्न सचेत गराएका छन्।
गृहमन्त्रीले वैदेशिक रोजगारीबाट फर्किएकाहरूले ल्याउने सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक केरकार र झन्झटिलो जाँच नगर्न समेत निर्देशन दिएका छन्।
सेवाग्राहीलाई अधिकतम सहजता प्रदान गरी विमानस्थलको सेवालाई जनमैत्री बनाउनु सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारेका छन्।