तेल अभिभ । इरानले साउदी अरेबियामा रहेको अमेरिकी एयरबेसमा मिसाइल र ड्रोनले आक्रमण गरेको दाबी गरेको छ। इरानको प्रेस टिभीका अनुसार आक्रमण शुक्रबार प्रिन्स सुल्तान एयर बेसमा भएको थियो, जहाँ अमेरिकी सेना तैनाथ छन् ।
वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ कि आक्रमणले बोइङ ई-३ सेन्ट्री विमानसहित उन्नत अमेरिकी सैन्य उपकरणहरूलाई क्षति पुर्याएको छ ।
यो विमान एयरबोर्न वार्निङ एण्ड कन्ट्रोल सिस्टमको एक हिस्सा हो, जसले राडार प्रयोग गरेर सयौँ किलोमिटर टाढा विमान र मिसाइलहरू निगरानी गर्न सक्छ ।
रिपोर्टका अनुसार अमेरिकासँग यस्ता १६ विमानमात्र छन् । यस आक्रमणमा इरानले ६ ब्यालिस्टिक मिसाइल र २९ ड्रोन प्रहार गरेको छ । आक्रमणमा १० देखि १५ अमेरिकी सैनिक घाइते भएका छन् । यद्यपि अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म आक्रमण र क्षतिको आधिकारिक रूपमा पुष्टि गरेको छैन ।
यसैबीच आइतबार कुवेतमा रहेको विद्युत तथा पानी प्लान्टमा भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको खबर छ।