युद्धविरामका बाबजुद लेबनानमा ३४ सय पटक इजरायली हवाई आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
594
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा गत अप्रिल १७ देखि युद्धविराम शुरू भए पनि इजरायलले लेबनानमा ३ हजार ४ सय ९१ पटक हवाई आक्रमण गरेको छ। लेबनानका रक्षामन्त्री मिशेल मेनासाले सोमबार आयोजित मन्त्रिपरिषद्को बैठकमा नेशनल न्यूज एजेन्सीलाई उद्धृत गर्दै यो तथ्याङ्क सार्वजनिक गरे।
मन्त्री मेनासाका अनुसार गत आइतवार मात्रै इजरायलले ७० पटक हवाई आक्रमण गर्नुका साथै ३३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। यसका साथै गत मार्च १ देखि हालसम्म लेबनानका सैनिक र सुरक्षा निकायका ४७ जना सदस्यले ज्यान गुमाएको समेत उनले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा इजरायली सेनाले सर्वसाधारणको बसोबास क्षेत्र, लेबनानी सशस्त्र बल, अन्य सुरक्षा निकाय र संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बललाई समेत लक्षित गरी आक्रमण गरेको उल्लेख छ।
लेबनानी अधिकारीहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिल १७ देखि जुन ७ सम्मको अवधिमा इजरायलले ४०७ वटा भौतिक संरचना ध्वस्त पारेको छ भने ६ पटक जमिन सफा गर्ने (ल्यान्ड–क्लियरिङ) र ६ पटक स्थलगत घुसपैठ गरेको छ। सोही अवधिमा इजरायली आक्रमणका कारण लेबनानमा कुल ३ हजार ५ सय २६ जनाको मृत्यु भएको छ भने १० हजार ७ सय ३३ जना घाइते भएका छन्।
कागजी रूपमा युद्धविराम सुरु भए पनि इजरायली सेना दक्षिण लेबनानमा अझै तैनाथ छ र त्यहाँ इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँगको भिडन्त जारी राखेको छ।
यसैबीच इजरायली सेनाले सोमबार दक्षिण लेबनानमा आफ्ना सैनिकहरूलाई लक्षित गरी तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। तीमध्ये दुईवटा क्षेप्यास्त्रलाई इजरायली प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरेको र एउटा सैनिक टोली नजिकै खसे पनि कुनै मानवीय क्षति नभएको इजरायलको दाबी छ।
क्षेत्रीय तनाव र लगातारको सैन्य आक्रमणका बिच कूटनीतिक प्रयासहरू पनि भइरहेका छन्। लेबनानका लागि अमेरिकी राजदूत मिशेल इसाले युद्ध अन्त्यका लागि भइरहेको वार्ता 'फर्कन नसक्ने बिन्दु' मा पुगेको बताए। विषयवस्तुको जटिलताका बावजुद वार्ता सही दिशामा अघि बढिरहेकोमा उनले विश्वास व्यक्त गरे।
यो तनाव इजरायल र इरानबिच सिधा सङ्घर्ष बढ्दै गएका बेला थप चर्किएको हो। इरानले आइतबार इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पनि इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरी जवाफ दिएको थियो। अमेरिकाले दुवै पक्षलाई संयमता अपनाउन आह्वान गरे पनि यी दुई देशबिचको सङ्घर्षले समग्र मध्यपूर्व क्षेत्रकै सुरक्षामा गम्भीर चुनौती थपेको छ।