युद्धविरामका बाबजुद इजरायलले लेबनानमा सैन्य कारबाही जारी राख्ने
कारबाही जारी रहे पहिलेभन्दा कडा आक्रमण गर्ने इरानको चेतावनी, ट्रम्पद्वारा 'तत्काल युद्धविराम' को प्रयास
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
313
Shares
काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा युद्धविरामको प्रयास भइरहेका बेला इजरायल, इरान र लेबनानको सशस्त्र समूह हेजबुल्लाहबिचको सैन्य तनाव फेरि चुलिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामका बाबजुद इजरायली सेनाले लेबनानमा हेजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने स्पष्ट पारेका छन्। टाइम्स अफ इजरायलका अनुसार रक्षामन्त्री काट्जले हेजबुल्लाहले इजरायली क्षेत्रमा थोरै मात्र पनि आक्रमण गरेमा सिधै लेबनानको राजधानी बेरुतमा विनाशकारी आक्रमण गर्ने चेतावनी दिएका छन्।
रक्षामन्त्री काट्जले पछिल्लो समय इरानले दिइरहेको चेतावनीलाई समेत ठाडो रूपमा अस्वीकार गरेका छन्। इजरायलमाथि फेरि आक्रमण गर्ने प्रयास गरिए इरानले यसअघिको भन्दा कडा प्रतिक्रियाको सामना गर्नुपर्ने काट्जले बताए।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले हालका लागि इरानमाथिको आफ्नो सैन्य आक्रमण रोकेको बताएका छन्। इजरायल र इरानले एकअर्कामाथि श्रृङ्खलाबद्ध हवाई र मिसाइल आक्रमण गरेपछि पहिलो पटक सार्वजनिक टिप्पणी गर्दै नेतान्याहूले तेहरानले इजरायली क्षेत्रमा आक्रमण बन्द गरेपछि लडाइँ रोकिएको जानकारी दिए।
अर्कोतर्फ, इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानी सेनाले लेबनानका जनताको समर्थन र इजरायली सैन्य अत्याचारको जवाफमा इजरायलमाथि आक्रमण गरिएको स्पष्ट पारेको छ। इरानी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै यदि इजरायलले लेबनानमा आफ्ना आक्रामक कारबाहीहरू जारी राखेमा सैन्य कारबाही पुनः सुरु गर्ने र पहिलेभन्दा कडा एवं दमनकारी उपायहरू अपनाउने चेतावनी दिएको छ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियनले तेहरान आफ्नो राष्ट्रिय हितको रक्षा र कूटनीतिक संलग्नता दुवैमा प्रतिबद्ध रहेको जोड दिएका छन्। सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा लेख्दै राष्ट्रपति पेजेस्कियनले भनेका छन्, "कूटनीति र रक्षा राष्ट्रिय शक्तिका दुई परिपूरक अङ्ग हुन्। इरान युद्धको मैदान र वार्ताको टेबुल दुवैमा उत्तिकै दृढताका साथ उपस्थित हुन सक्षम छ।"
इरान र इजरायलबिच तीव्र आक्रमण र प्रतिआक्रमणसहित शत्रुता चरम सीमामा पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबिच “तत्काल युद्धविराम“ लागू गराउन सक्रिय कूटनीतिक प्रयास थालेका छन्।
राष्ट्रपति ट्रम्पले द्वन्द्वको पूर्ण समाधानका लागि शान्ति सम्झौताको अन्तिम चरणको वार्ता भइरहेको दाबी गरेका छन्। सम्झौताको प्रयास द्रुत गतिमा अघि बढिरहेको उल्लेख गर्दै ट्रम्पले स्थायी शान्ति सम्झौता नभएसम्म इरानमाथि वासिङ्टनले लगाएको आर्थिक र राजनीतिक नाकाबन्दी (अवरोध) कायमै रहने स्पष्ट पारेका छन्।