काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक आज पनि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक सुदृढीकरणका एजेन्डाहरूमा केन्द्रित रहँदै बैठक जारी रहने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा विशेषगरी पार्टीको आगामी १५ औँ महाधिवेशनको कार्यतालिका निर्माण र केन्द्रीय निर्वाचन समिति गठनका विषयमा सघन छलफल भइरहेको उनले बताए। यसका साथै संविधान संशोधनका लागि आवश्यक अध्ययन तथा सुझाव संकलन गर्न विज्ञसहितको समिति गठन गर्ने र सुशासन स्थापनाका लागि पार्टीको भूमिकाका बारेमा समेत बैठकमा छलफल भइरहेको छ।
बैठकका अन्य प्रमुख एजेन्डाहरूमा क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक विशेष अभियान, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, र प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन समीक्षा रहेका छन्। त्यस्तै, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको व्यवस्थापनका साथै केन्द्रीय लेखा समिति गठनका विषयमा समेत नेताहरूले धारणा राखिरहेका छन्। अहिलेसम्म १८ जना केन्द्रीय सदस्यहरूले आफ्ना भनाइहरू प्रस्तुत गरिसकेको र बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्ने कार्यतालिका रहेको कार्यवाहक मुख्यसचिव दुलालले बताए।