हतार वा दबाबमा होइन, जिम्मेवारीबोधका साथ राजीनामा दिएको हुँ : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
823
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतार वा हतास मनस्थितिमा होइन, जिम्मेवारी र जवाफदेहिताको आधारमा राजीनामा दिएको स्पष्ट पारेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा उनले विशेष महाधिवेशनपछि आफ्नो नेतृत्वमा पार्टी निर्वाचनमा गएको स्मरण गराउँदै त्यसको परिणामको नैतिक जिम्मेवारी आफूले लिएको बताए।
थापाले निर्वाचन परिणामबारे भइरहेका टिप्पणीप्रति आफू असम्बद्ध रहेको पनि स्पष्ट पारे। “हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरूले गर्ने टिप्पणी हाम्रो सरोकारको विषय होइन,” उनले भने।
उनका अनुसार, प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि तत्कालै राजीनामा दिने सोच बनाइसकेका थिए। तर निर्वाचनसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यसमा केही ढिलाइ भएको उनले बताए।
“मैले उपसभापतिलाई पहिले नै आफ्नो मनस्थिति साझा गरेको थिएँ। यो कुनै दबाबमा दिएको राजीनामा होइन, यो पूर्ण रूपमा जिम्मेवारीबोधको निर्णय हो,” थापाले भने।
उनले आफ्नो नेतृत्वमा पार्टी निर्वाचनमा गएको उल्लेख गर्दै परिणामको जिम्मेवारी लिनु स्वाभाविक भएको बताए।
साथै, नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको भन्दै उक्त जिम्मेवारीलाई गम्भीर र प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिए।