नेपालमा तेस्रो सार्क स्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्मेलन हुँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
590
Shares
काठमाडौँ। नेपालमा तेस्रो पटक सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्मेलन आयोजना गर्न लागिएको छ।
सम्मेलनको उद्देश्य क्षयरोग र एचआईभी एड्स नियन्त्रणमा देखिएका चुनौतीहरू सामना गर्दै अनुभव साटासाट गरी समाधानका उपायहरू खोज्नु रहेको छ।
सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. अनुज भट्टचनले विश्व क्षयरोग दिवसको अवसर पारेर भक्तपुरमा आयोजित कार्यक्रममा सम्मेलनको जानकारी दिँदै, यस क्षेत्रका विज्ञहरुलाई सहयोगका लागि आह्वान गरे।
डा. भट्टचनले भने, “पहिलो र दोस्रो सार्कस्तरीय टिवी तथा एचआईभी कन्फरेन्स सफल भएको थियो। यस वर्ष पनि हामी त्यसको निरन्तरता दिन लागेका छौँ। सम्मेलनमार्फत सदस्य राष्ट्रहरूले भोगेका चुनौतीहरूको अनुभव साटासाट गर्ने र साझा समाधान खोज्ने अवसर हुनेछ।”
सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा क्षयरोगीको संख्या बढ्दो अवस्थामा रहेको र यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सबै स्थानीय सरकारको सहभागिता आवश्यक रहेको निष्कर्ष निकालेको छ।
निर्देशक भट्टचनका अनुसार, क्षयरोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन तीन ओटै तहका सरकारले समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ।
उनले राष्ट्रिय कार्यक्रममार्फत चुनौतीहरू पहिचान गरी त्यसको समाधानका लागि साझा प्रयास आवश्यक रहेको पनि जोड दिए।