arrow

कांग्रेसमा समानान्तर गतिविधिका कारण विभाजनको खतरा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
shyam-ghimire-nc-08-12.jpg

काठमाडौँ। नेपाली कांग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्‍याएको छ। एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिले निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर शेरबहादुर देउवा र डा. शेखर कोईराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन्।

नेता श्याम घिमिरेले पार्टीभित्रको यो ‘इगो’ को लडाईंले आगामी निर्वाचनमा कांग्रेसलाई झनै कमजोर बनाउने चेतावनी दिएका छन्।

उनका अनुसार अहिलेको मुख्य आवश्यकता भनेको पार्टीलाई एकजुट बनाएर अगाडि लैजानु हो। तर दुवै पक्ष आफ्नो अडानमा अडिग रहँदा कार्यकर्तामा निराशा देखिएको छ।

देउवा-कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाउने तयारी गरेको छ।

यसले पार्टीभित्र दुईटा समानान्तर केन्द्र बनेको प्रष्ट पार्नेछ र सांगठनिक ढाँचामा कमजोरी ल्याउने सम्भावना बढाएको छ।

घिमिरेले चेतावनी दिँदै भने, “यदि कसैले ‘मैले जितिहालेँ, अब मेरो मात्र चल्छ’ भन्ने अहङ्कार पालेर अगाडि बढ्न खोज्यो भने त्यो कांग्रेसका लागि आत्मघाती हुनेछ। पार्टीभित्रको आन्तरिक कलहले अर्को निर्वाचनमा पार्टीलाई झन् कमजोर बनाउनेछ।”

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनलाई लिएर नयाँ विवाद सतहमा आएको छ। देउवा र कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाउने तयारीलाई तीब्रता दिएका छन्। यस कदमले वर्तमान संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको खाडल झनै फराकिलो बनाउने देखिएको छ।

आइतवार धुम्बाराहीमा बसेको गोप्य बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोईरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिका प्रभावशाली नेताहरूको उपस्थिति रहेको थियो। बैठकले हालै सम्पन्न निर्वाचनको परिणाम र पार्टीको आन्तरिक अवस्थाको गम्भीर समीक्षा गरेको छ।

घिमिरेका अनुसार निर्वाचनमा पराजित हुनुको एउटा मुख्य कारण १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाइनु हो।

उनले भने, “पार्टी नराम्रोसँग पराजित भएको छ, तर समीक्षा गर्ने ठाउँ छैन। १४ औँ महाधिवेशनबाट आएका हामी केन्द्रिय सदस्यहरू पूर्ण रूपमा भुमिकाविहीन भएका छौँ। यस अवस्थामा पार्टीलाई कसरी अघि बढाउने भन्ने चिन्ता सबैमा छ।”

राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क स्वाभाविक भए पनि अहिलेको परिस्थितिमा यस्तो छलफलले विशेष अर्थ राख्छ। देउवा पक्षद्वारा आधिकारिक रूपमा केन्द्रिय समितिको बैठक बोलाइहाल्ने निर्णय भइ नसके पनि नेताहरूको आवाज र दबाब बढेको छ।

निर्वाचन समीक्षाका लागि पुरानै कार्यसमितिको बैठक बोलाउनुपर्ने मागले पार्टीभित्र नयाँ ध्रुवीकरण सिर्जना गरेको छ। यसले आगामी दिनमा नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ