arrow

ताप्लेजुङका डाँडाकाँडा चाँदीझैँ सेताम्मे: कञ्चनजङ्घा र पाथीभरा क्षेत्रमा बाक्लो हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
taplejung-himpat-.jpg

काठमाडौँ । दुई दिनको लगातारको वर्षापछि मौसम सफा भएसँगै ताप्लेजुङका डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिएका छन्। मैवाखोला गाउँपालिकाको तीनजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको छ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र हिउँले गर्दा मनमोहक बनेका छन्। मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ।

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको हो। वर्षासँगै सुरु भएको हिमपातले फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा, फले तथा वडा नं ७ को ओलाङ्चुङगोला क्षेत्र सेताम्मे बनेका छन्। त्यस्तै, मिक्वाखोलाको तोक्पेगोला, आठराई त्रिवेणीका माथिल्ला भेग र सिदिङ्वाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिउँ जमेको स्थानीयले बताएका छन्।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि उल्लेख्य हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ।

हिमपातसँगै जिल्लाका हिमाली बस्तीहरूमा चिसो अत्यधिक बढेको छ। विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साजस्ता उच्च हिमाली बस्तीहरूमा चिसोका कारण जनजीवन कष्टकर बनेको स्थानीय फुटी शेर्पाले जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ