स्थानीय उद्यमीले उत्पादन गरेका सामग्री किन्दै फुङ्लिङ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
748
Shares
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरूद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ ।
उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण शुरू गरेको हो। विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ ।
वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गएको दुई वर्ष तालिम सञ्चालन गरिएको थियो ।
तालिममा सहभागी महिलाहरुले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । १६ महिला आवद्ध भई सञ्चालन गरिएको उद्योगले विभिन्न किसिमका सामग्री उत्पादन गर्न थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
उद्यमीहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गरेको वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताए ।
लिम्बूका अनुसार उद्योगमा उत्पादित झोला फुङ्लिङ नगरपालिका-१० फुरुम्बुका विद्यार्थीलाई वितरण गरिएको छ । वडा कार्यालयले खरिद गरी बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गरेको हो ।
वडाको चालु आर्थिक वर्षको करिब पाँच लाख बजेटमा झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो ।
फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको सदुपयोग गर्न अनुरोध गरे । उद्योगमा कपडा, झोला, टोपी, गलबन्दी, रुमाललगायतका सामग्री उत्पादन हुँदै आएको छ । रासस