arrow

हिमालमा ब्वाँसोको वितण्डा: रित्तिँदै गोठ, रूँदै किसान

ब्वाँसो नियन्त्रण गर्न 'ट्याकिङ' प्रविधिको माग, जाडोयाममा झन् बढ्यो आतङ्क, यसवर्ष मात्रै ९ चौँरी मारिए, किसान मारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
wolf-apf.jpg

काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जङ्गली जनावर ब्वाँसोका कारण बर्सेनि पीडित बन्दै आएका छन्। यहाँका किसानले पालेका याक र चौँरीलाई ब्वाँसोले आक्रमण गरी मार्दा हरेक वर्ष उनीहरूले लाखौँको आर्थिक क्षति बेहोर्नु परेको छ।

केही दिनअघि मात्रै याङ्माका लोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठका तीन वटा चौँरी ब्वाँसोको आक्रमणबाट मरेका छन्। यसवर्ष हालसम्म मात्रै विभिन्न किसानका गरी नौवटा चौँरी मरिसकेका छन्। वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दा बढी चौपाया ब्वाँसोको शिकार भएका थिए। एउटा चौँरीको मूल्य कम्तीमा ६० हजार रुपैयाँ पर्ने र तिब्बत लैजाँदा यो मूल्य अझ बढ्ने भएकाले किसानहरू ठूलो मारमा परेका छन्।

राहतको अभाव र राज्यको उदासीनता जम्मा ९ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो। तर, बर्सेनि ब्वाँसोले सास्ती दिँदा पनि राज्यले नियन्त्रण र उचित राहतमा चासो नदिएको स्थानीयको गुनासो छ। पशुपालक लोप्साङ शेर्पाले राहत रकम अत्यन्तै न्यून हुने गरेको बताए। जाडोयाममा ब्वाँसोको हुल नै आउने र वर्षामा भने यो जनावर कता जान्छ भन्ने यकिन नहुने स्थानीयको भनाइ छ। स्थानीयले यसलाई ‘प्याङ्गु’ भनेर चिन्ने गरेका छन्।

वडाअध्यक्ष शेर्पाले पालिकाको न्यून बजेटका कारण पीडित किसानलाई उचित राहत दिन नसकिएको स्वीकार गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उनले हिउँ चितुवामा जस्तै यो ब्वाँसोमा पनि ‘ट्याकिङ उपकरण’ जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सके नियन्त्रण प्रभावकारी हुने सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ