नगदको जमाना गयो! गोल्डकप विजेतालाई अलैँची पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
15.4k
Shares
काठमाडौँ। ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी (तीन मन ११ किलोग्राम) अलैँची पुरस्कार उपलब्ध गराइएको छ।
बिहीबार भएको फाइनल खेलमा गणेशचोक क्लबले हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै यो पुरस्कार हात पार्न सफल भएको हो।
आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले बताए अनुसार विजेता गणेशचोक क्लबले नगद रु तीन लाख दुई हजार ८२ बराबरको अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बिहीबार ताप्लेजुङमा प्रतिमन (४० किलोग्राम) रु ९२ हजारको भाउ अनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको हो।
त्यसैगरी, उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत रु एक लाख ५० हजार ८२ बराबरको करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।