ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुले चौपायामाथि शृङ्खलाबद्ध आक्रमण गरी क्षति पुर्याउन थालेपछि नियन्त्रणका लागि फलामे खोर राखिएको छ। हाङ्देवाको बुङ्कुलुङस्थित धुपौरे क्षेत्रमा भालुले किसानका खसीबाख्रा मार्ने र घाइते बनाउने क्रम बढेपछि मङ्गलवार डिभिजन वन कार्यालयको अगुवाइमा खोर राखिएको हो।
सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) नेपालका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार, भालुको आक्रमणबाट गत सातायता आठवटा खसीबाख्रा मरेका छन् भने तीनवटा घाइते भएका छन्। भालु पटक-पटक स्थानीय नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राख्ने खोरमा प्रवेश गरेकाले सोही स्थान नजिकै फलामे खोर थापिएको छ।
खोर राख्नका लागि निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, वडाध्यक्ष लक्षुमन गुरुङ र प्रहरीको टोली घटनास्थल पुगेको थियो। स्थानीयका अनुसार पछिल्लो पटक सोमबार राति मात्रै नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छ। यसअघि पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा र मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुको आक्रमणमा मारिएका थिए।
भालुको आतङ्कले गर्दा स्थानीय बासिन्दा घाँस-दाउरा गर्न र अलैँची बगानमा जान समेत डराउन थालेका छन्। वडाध्यक्ष लक्षुमन गुरुङले जङ्गल जाँदा र घर बाहिर निस्कँदा उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।