रामेछाप । सामूहिक प्रयास गर्यो भने के हुँदैन ? जे पनि हुन्छ । रामेछापको मन्थली नगरपालिका-८ चिसापानीका स्थानीयले यो उदाहरण देखाएका छन् ।
मन्थली-चिसापानी सडकको जखनिटारदेखि चिसापानीसम्मको भागमा वडा कार्यालयको अगुवाइमा स्थानीयले विभिन्न खालका फूल र फलफूलका बिरुवा हुर्काएर बगैँचा जस्तै चिटिक्क बनाएका छन् ।
हरित सडकको अवधारणा अन्तर्गत सडक किनारमा फूल र फलफूलका बिरुवा लगाइएको मन्थली नगरपालिका-८ का वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार सडक किनारमा विभिन्न जातका फूलहरूका साथै आँप, लिचीलगायतका बिरुवाहरू लगाइएको छ ।
सुक्खा मौसममा अति सुक्खा हुने सो क्षेत्रमा स्थानीयले बोतलबाट पानी हालेर भए पनि बिरुवाहरू हुर्काएका छन् ।
अहिले अधिकांश फूलका बिरुवाहरू फुल्न लागेका छन् भने आँपका केही बिरुवा पनि फुलेका छन् । अहिले सो सडकबाट यात्रा गर्दा बगैँचा घुमेजस्तो अनुभूति हुने गर्दछ ।
ती बिरुवा त्यसै हुर्किएका छैनन् । अधिकांश फूलका बिरुवाहरू स्थानीयले बाँसले बारेका छन् ।
स्थानीयहरू समय मिलाएर बिरुवा गोड्न, मल पानी दिन उर्दी लगाएर नै जान्छन् । बिरुवा संरक्षणको लागि सामूहिक प्रयासमा स्थानीय जुटेका छन् ।
यति गर्दा गर्दै पनि कतिपय बदमासहरूले बिरुवाको बार भत्काइदिने । बिरुवाको मुन्टो नै निमोठेर दुःख दिने गरेका अध्यक्ष श्रेष्ठले गुनासो गरे ।
त्यसलाई नियन्त्रणका लागि वडा कार्यालयले सूचना नै जारी गरेर त्यस्तो काममा संलग्नको बारे जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गरेको बताए ।