ग्यास अभाव हुनुमा आयल निगमको असक्षमता र कालोबजारी मुख्य कारण: उपभोक्ता मञ्च [भिडियो]
उपभोक्ता ऐन पुनर्लेखनको माग, अनुगमन र नियमन गर्ने निकाय एउटै हुँदा झन् बढ्यो बेथिति
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
846
Shares
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालमा हाल देखिएको खाना पकाउने ग्यासको अभाव हुनुमा नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको आरोप लगाएको छ। विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ग्यास र पेट्रोलियम पदार्थको समस्यामा बाह्य प्रभाव नरहेको दाबी गरे।
अध्यक्ष महर्जनका अनुसार आयल निगमले इन्डियन आयल कर्पोरेसनसँगको आपूर्ति व्यवस्थाबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग जस्तो नियामक निकायलाई समेत सही सूचना नदिएका कारण बजारमा अन्योल र अभाव सिर्जना भएको हो। उनले निगमको आन्तरिक बेथिति र साना व्यापारीहरूको आर्थिक लोभका कारण ग्यासमा व्यापक कालोबजारी भइरहेको बताए। पोखरा, स्याङ्जा, र पर्वत लगायतका क्षेत्रमा भइरहेको कारबाहीले पनि बजारमा कृत्रिम अभाव र कालोबजारी रहेको पुष्टि गर्ने उनको तर्क थियो।
सोही कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ता हित संरक्षणका लागि वर्तमान कानुन नै पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले ऐन बनाउने र अनुगमन गर्ने निकाय एउटै हुँदा स्वार्थ बाझिने र अन्योल उत्पन्न हुने बताए। उद्योग र वाणिज्यको प्रवर्द्धन गर्ने मन्त्रालय र विभागलाई नै अनुगमनको जिम्मा दिनु संसारकै गलत अभ्यास भएको बताउँदै उनले यसलाई परिमार्जन गर्न माग गरे। सरकारी निकायहरूबीच समन्वय नहुँदा व्यवसायीहरूले आफ्नो उत्पादन प्रवर्द्धनमा समेत ठुलो समस्या झेल्नुपरेको उनले बताए।