arrow

आयल निगमलाई पन्ध्र दिनमै पाँच अर्ब घाटा: हवाई इन्धनको मूल्यमा भारी वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ । पश्चिम एसियामा चर्किएको युद्ध र अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्ति अवरोधका कारण नेपाल आयल निगमले पछिल्लो पन्ध्र दिनमै करिब पाँच अर्ब रुपैयाँ घाटा बेहोरेको छ। निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेसनबाट महँगो दरमा इन्धन खरिद गर्नुपरेको छ। स्वचालित मूल्य प्रणालीअनुसार आन्तरिक बजारमा मूल्य समायोजन गर्न नसक्दा निगमलाई यो ठूलो आर्थिक भार परेको हो। 

निगमका प्रवक्ता मनोज कुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारको यो वृद्धि कायम रहे आगामी दिनमा घाटा अझै बढ्ने र हाल मूल्य स्थिरीकरण कोषमा रहेको १९ अर्ब रुपैयाँले पनि धेरै दिन धान्न नसक्ने चेतावनी दिएका छन्। हाल पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा भए तापनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखेको छ।

तथापि निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्यमा भने भारी वृद्धि गर्ने निर्णय गरेको छ। आन्तरिक उडानतर्फको हवाई इन्धनमा प्रतिलिटर १२४ रुपैयाँले वृद्धि गरी १२७ रुपैयाँबाट २५१ रुपैयाँ पुर्‍याइएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ८१९ अमेरिकी डलरले बढाएर १,७८५ डलर कायम गरिएको छ भने पोखरा र भैरहवाका लागि पनि लागतकै आधारमा बिक्री मूल्य तय गरिएको छ। निगमले इन्धन आपूर्ति प्रणाली सहज रहेको र पर्याप्त मौज्दात उपलब्ध रहेको जानकारी दिँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन विशेष आग्रह समेत गरेको छ।

अन्तर्राष्ट्रिय बजारको यो असर छिमेकी राष्ट्र भारतमा पनि प्रत्यक्ष देखिएको छ, जहाँ सरकारले व्यावसायिक एलपीजी ग्यास र हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। हर्मुज नाका बन्द हुनु र खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले सिर्जित संकटका कारण दिल्लीमा १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्य २,०७८ भारु पुगेको छ।

त्यस्तै, भारतमा हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर २ लाख भारु नाघेको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य पनि दोब्बरभन्दा बढीले बढेको छ। भारतमा पनि घरेलु प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य भने हाललाई यथावत् ९१३ भारु नै कायम राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ