चरम मूल्यवृद्धि हुँदा पनि आयल निगमलाई पाक्षिक पाँच अर्ब ७५ करोड घाटा हुने जानकारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
1.4k
Shares
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गए मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।
परिवर्तित मूल्यअनुसार, डिजेल र मट्टितेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।
पाक्षिक रूपमा करिब रु पाँच अर्ब ७५ करोड घाटा हुने देखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।