ग्यास लुकाउने र कालोबजारी गर्नेलाई कारबाही तीव्र: ११३७ मा 'कल' गर्न विभागको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
712
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावको बहाना बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार र कालोबजारी गर्नेहरू विरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आक्रामक रूपमा प्रस्तुत भएको छ। विभागले बजारमा ग्यास लुकाउने, बढी मूल्य लिने वा अनुचित व्यापारिक क्रियाकलाप गर्नेहरूबारे जानकारी भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर सूचना दिन आम उपभोक्तालाई अनुरोध गरेको छ।
नेपाल आयल निगमले आपूर्ति व्यवस्थापन सहज बनाउन आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा अझै अभाव देखिएपछि विभागले आफ्नो सक्रियता बढाएको हो। देशभरका जुनसुकै स्थानबाट ११३७ मा फोन गरी सूचना दिन सकिने र यस्तो सूचना दिनेको पहिचान गोप्य राखिने विभागले बताए। अनुगमनका क्रममा कैफियत फेला परेमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम स्थलगत नै कडा कारबाही र जरिवाना गरिने चेतावनी दिइएको छ।
यसैक्रममा विभागले सोमबार मात्रै ललितपुरको हरिसिद्धिस्थित गोदाममा ठुलो परिमाणमा ग्यास लुकाएर राखेको फेला पारेपछि श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। अनुगमन टोलीले उक्त गोदाममा १४.२ किलोग्राम तौलका ६ हजार ३७७ थान भरिएका सिलिन्डर लुकाइएको अवस्थामा फेला पारेको थियो। बजारमा चरम अभाव हुँदा पनि यसरी मौज्दात लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि तत्काल कारबाही गरिएको विभागले बताए।
विभागले सबै ग्यास उत्पादक र वितरकहरूलाई कानुनसम्मत व्यवसाय गर्न र विषम परिस्थितिमा मानवीयता नभुल्न सचेत गराएको छ। आपूर्ति प्रणालीमा देखिएको अवरोध हटाउन र कृत्रिम अभावलाई नियन्त्रण गर्न देशभर स्थलगत निरीक्षण र अनुगमनको कार्यलाई थप सशक्त बनाइएको प्रवक्ताले बताए।