दुई तिहाइको सरकार र आर्थिक समृद्धिको आशा, महासंघ अध्यक्ष ढकालको यस्तो छ सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
841
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा बन्न लागेको नयाँ सरकारले राजनीतिक स्थिरतासँगै निजी क्षेत्रमैत्री र स्थायी नीति ल्याउनुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको 'फार्मा एक्स्पो' लाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको स्थिर सरकारको माग अब पूरा हुन लागेको बताए।
अध्यक्ष ढकालले हाल करिब दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमा उल्लेख गरेका निजी क्षेत्रमैत्री प्रतिबद्धताहरूको स्मरण गराए। रास्वपाले वाचापत्रमार्फत व्यक्त गरेका ती प्रतिबद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन भएमा छोटो समयमै मुलुकले आर्थिक गति लिन सक्ने उनको विश्वास छ। उनले अब बन्ने सरकारले आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने खालका स्थायी नीतिहरू लिनुपर्ने सुझावसमेत दिए।
सम्बोधनका क्रममा ढकालले 'भूतप्रभावी' (पहिले भइसकेका काममा पछि कानुन बनाएर लागू गरिने) कानुनका कारण लगानीकर्ताहरूमा निराशा छाएको भन्दै त्यस्ता कानुन लागू नहुने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए। यदि राज्यले लगानीको सुरक्षा र कानुनी सुनिश्चितता प्रदान गरेमा मुलुकमा छिट्टै आर्थिक गतिविधि बढ्ने, आन्तरिक रोजगारी सिर्जना हुने र राजस्व संकलनमा समेत वृद्धि भई पूर्वाधार निर्माणमा सहयोग पुग्ने उनले स्पष्ट पारे। आर्थिक गतिविधि विस्तार भएमा मात्र आम नेपालीको विकास र समृद्धिको चाहना पूरा हुन सक्ने ढकालको भनाइ छ।