सामाजिक सञ्जालमा भिडेर नबस्न आफ्नो पार्टीका नेता कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन [भिडियो]
देश एक्लैले नबन्ने उल्लेख गर्दै एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
1k
Shares
पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिएका छन्।
शुक्रबार पोखरामा आयोजित चुनावी सभामा उनले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताए ।
आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दललाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाइ छ ।
देश एक्लैले नबन्ने उल्लेख गर्दै उनले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताए ।
सभापति थापाले भने, ‘तपाईंहरूले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यतया कसको पक्षमा हुन्छ ? जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर दुई जनालाई गाली गरेँ । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाईरल हुन्छ । त्यो कन्टेन्ट बन्छ । तर मैले प्रेमको कुरा गर्छु । सृजनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन। मैले भोलि प्रधानमन्त्री बन्ने मौका पाए भने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ नि त । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६,७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । चाहिदैन ?’
सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाइरल हुने पक्षमा नरहेको पनि बताए।