निर्वाचनमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन उच्च सतर्कता
स्वास्थ्यकर्मीलाई बिदा नबस्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
768
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला स्वास्थ्य सेवालाई निर्वाध रूपमा सञ्चालन गर्न उच्च सतर्कता अपनाएको छ। निर्वाचनका क्रममा हुन सक्ने सम्भावित झडप, सडक अवरोध र आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला तथा घरदैलोका क्रममा कार्यकर्ताबीच हुन सक्ने झडप र निर्वाचन बिथोल्न खोज्ने समूहले सिर्जना गर्न सक्ने अवरोधका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन रणनीति तयार पारिएको बताए। उनका अनुसार मन्त्रालयले गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सेवा प्रवाहको सुनिश्चितता गरेको छ।
मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर राख्न निर्देशन दिएको छ। निर्वाचनका बेला घाइते वा बिरामी अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या निम्तिन सक्ने भन्दै प्रवक्ता बुढाथोकीले स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नलिन र लामो बिदा स्थगित गर्न आग्रह गरिएको जानकारी दिए। "हामीले निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मीहरूलाई निर्वाचनमा खटाउँदा स्वास्थ्य संस्थाको सेवा नरोकिने गरी मात्र व्यवस्था मिलाउन अनुरोध गरेका छौँ," उनले भने।
सम्भावित आपत्कालीन अवस्थाका लागि मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण र भर्चुअल तालिम प्रदान गरिसकेको छ। रणनीतिक स्थानहरूमा आवश्यक औषधि, उपकरण र लजिस्टिक सामग्रीको भण्डारण गरिएको छ। आवश्यक परेको खण्डमा आपत्कालीन मेडिकल टिम र 'र्यापिड रेस्पोन्स टिम' पनि परिचालन गरिने मन्त्रालयले जनाएको छ।
प्रवक्ता बुढाथोकीका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालन हुनेछन्। "विपत् घण्टी बजाएर आउँदैन, त्यसैले हामी सधैँ तयारी अवस्थामा हुन्छौँ," उनले थपे, "अहिलेको विशेष परिस्थितिलाई ध्यानमा राखेर पूर्वतयारीलाई अझ परिमार्जन र सुदृढ गरिएको छ।" स्थानीय प्रशासनलाई झडप हुन नदिन र सडक अवरोध हटाउन आग्रह गर्दै मन्त्रालयले कुनै पनि अप्रिय घटना भएमा स्वास्थ्य संस्थाहरू उपचारका लागि पूर्ण तयारीको अवस्थामा रहेको स्पष्ट पारेको छ।