स्वास्थ्यमन्त्री मेहता र डब्ल्यूएचओका महानिर्देशकबीच जेनेभामा भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
418
Shares
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबीच स्विट्जरल्यान्डको जेनेभामा भेटवार्ता भएको छ।
विश्व स्वास्थ्य सङ्गठनले जेनेभामा आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरूबीच यो उच्चस्तरीय भेटवार्ता भएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेटका अवसरमा दुई पक्षबीच नेपालको स्वास्थ्य क्षेत्रको विकास र डब्ल्यूएचओको सहयोगबारे फलदायी छलफल भएको छ।
भेटपछि मन्त्री मेहताले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोससँगको कुराकानी अत्यन्तै सकारात्मक र उपलब्धिमूलक रहेको बताएकी छन्। छलफलका क्रममा महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र आवश्यक प्राविधिक तथा रणनीतिक सहयोगका लागि विश्व स्वास्थ्य सङ्गठन सधैँ प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।
तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकी स्वास्थ्यमन्त्री मेहताले यसअघि विश्व स्वास्थ्य सभाकै साइडलाइनमा भारतीय र चिनियाँ स्वास्थ्य मन्त्रीहरूसँग पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिसकेकी छन्। छिमेकी मुलुकहरूसँगको भेटमा स्वास्थ्य क्षेत्रमा क्षेत्रीय सहकार्य र अन्तरदेशीय स्वास्थ्य सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।