अति दुर्गम समुदायका नौ सय बढीको निःशुल्क आँखाको शल्यक्रिया
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
318
Shares
काठमाडौँ । कर्णाली प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायका ९५३ जना नागरिकको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका निःशुल्क आँखा शिविर तथा बाह्य कार्यक्रममार्फत सो सेवा प्रदान गरिएको हो।
अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा कर्णालीमा १७ हजार ६४९ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यसअन्तर्गत बाह्य शिविरबाट ७ हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने प्रदेशमा सञ्चालित आँखा उपचार केन्द्रहरूबाट १० हजार ४३२ जनाले सेवा लिएका छन्। हाल जुम्ला, कालीकोट, हुम्ला र मुगुका विभिन्न स्थानमा आँखा उपचार केन्द्र सञ्चालनमा छन्।
हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रथापा मगरले कर्णालीका भौगोलिक विकटता र यातायातको कठिनािलाई ध्यानमा राख्दै सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिनुभएको छ। जुम्लामा नेत्र विशेषज्ञमार्फत नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने तथा कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’ स्थापना गरी स्थानीयस्तरमै शल्यक्रिया सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ।
यसैबीच, पोखरामा सम्पन्न गण्डकी तथा कर्णाली प्रदेशका आँखा अस्पताल तथा केन्द्रहरूको वार्षिक कार्ययोजना तथा समीक्षा गोष्ठीमा आगामी वर्ष दुर्गम क्षेत्रमा विशेषज्ञ र शल्यक्रिया सेवा थप प्रभावकारी बनाउने रणनीतिबारे छलफल गरिएको छ।
नेपाल नेत्रज्योति सङ्घले स्थापनाकालदेखि सन् २०२५ को अन्तिमसम्ममा देशैभरि फैलाएको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत कुल ५ करोड २ लाख ४ सय ८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ। यस अवधिमा ५६ लाख ५९ हजार ६ सय २४ जनाको सफल आँखा शल्यक्रिया भइसकेको सङ्घले जनाएको छ।