स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
चालु आर्थिक वर्षमा ६० प्रतिशत फर्स्यौट गर्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
407
Shares
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा। विकास देवकोटाले यससम्बन्धी जानकारी दिएका हुन्।
बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत बेरुजु फर्स्यौट भइसकेको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने स्पष्ट पारे।
उनले खाद्य स्वच्छता विभागसँग जोडिएर आएका बेरुजुबारे अहिले नै यकिन नभए पनि साविकको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजुको अवस्था यस्तो रहेको बताए।
मन्त्रालयले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षणका लागि तयारी गरिरहेको उनले जानकारी दिए। यो परीक्षण प्रक्रिया सकिएपछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फर्स्यौट हुने अपेक्षा मन्त्रालयले गरेको छ।
गत वर्षहरूमा बेरुजु फर्स्यौटको दर ५० प्रतिशतभन्दा कम हुने गरेको भए तापनि चालु आर्थिक वर्षमा भने ६० प्रतिशतसम्म बेरुजु फर्स्यौट गर्ने लक्ष्य लिइएको सचिव देवकोटाले उल्लेख गरे।