केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल हुँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
685
Shares
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।
उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका हुन्। उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे । अझै पनि केही उम्मेद्वारहरूले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए ।
उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरे ।
अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाइ छ ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गरे। राजनीतिक दल, उम्मेद्वार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार-प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ ।
नयाँ पुराना सबै शक्तिहरूले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ ।
नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताए।
निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे ।
साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए ।
उनले भने, ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण विथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ । कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस् । अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहीँ विथोल्न सक्दैनौँ । तोकिएको मितिमा तोकिएको समयमा फागुन २१ गते विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रक्रियाको समय छ, त्यो सम्पन्न हुन्छ । निर्वाचन हुन्छ, निर्वाचनको विकल्प निर्वाचन नै हो । निर्वाचनलाई विथोल्ने प्रयास कहीबाट पनि नगरियोस् । यो मैले भनिरहँदा निर्वाचन आयोगको कमजोरी पनि नसोचियोस् । निर्वाचन आयोजले निर्वाचन गर्छ । राजनितिक दल, उम्मेद्वार, राजनीतिक दलका कार्यकर्ताहरू सबै आआफ्नो ठाउँमा निर्वाचन प्रचारप्रसारमा गइराख्नुभएको छ । उहाँहरूले पनि निर्वाचन बाहेक अर्को वैकल्पिक मार्ग देखिरहनुभएको छैन । भदौ २७ गतेभन्दा अगाडिको शक्ति र भदौ २३ र २४ को विद्रोहपछि उठेको अर्को नयाँ शक्ति यी दुबै शक्तिको संयोजन पनि निर्वाचन बाहेक अरु केही देख्नुभएको छैन । उहाँहरू निर्वाचनमा लागिराख्नु भएको छ । अब यसरी निर्वाचन गरेर नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य राखेर, आकांक्षा लिएर बसिरहेका व्यक्ति र व्यक्तिहरूलाई कसैले निर्वाचन विथोलिन्छ, अलिकति धमिलो पानीमा माछा मार्न पाइयो भने यसो केही समय खेल्न पाइन्छ भन्ने होला, त्यो हुँदैन । त्यो गर्न पाइँदैन, त्यस्ता कार्यहरू सरकारले वर्जित गर्ला, निर्वाचन आयोगले पनि नजिकैबाट नियालीरहेका छौँ । यो यो कमजोरी भो सरकार यसलाई सच्याएर निर्वाचनको वातावरण बनाउन भन्छौँ ।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसंग आग्रह गरे । केही सञ्चारमाध्यामहरूले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उनले मत सर्वेक्षण नगर्न पनि आग्रह गरे ।
आफूले पटक-पटक मत सर्वेक्षण नगर्न आग्रह गरे पनि केही सञ्चारमाध्यामहरूले नटेरेको उनको गुनासो छ। उनले आचारसंहिता विपरीतको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिए।