गौरमा दुई समुदायको सहमति तोडियो, हिंसामा दुई प्रहरीसहित आठ घाइते, लगाइयो अनिश्चितकालीन कर्फ्यु [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
771
Shares
रौतहट । रौतहटमा दुई समुदायबीचको झडपले उग्ररुप लिएको छ । शुक्रबार जिल्ला प्रशासनको रोहवरमा भएको ६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ।
विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच भएको विवादको घटनालाई राजनीतिक रूप दिन खोजिएपछि स्थिति बिग्रिएको हो ।
गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि मुस्लिम समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको नेतृत्वमा अपरान्ह ४ बजे दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि पुनः विवाद चर्किएपछि झडप र आगजनी शुरू भएको थियो ।
झडप हुँदा ६ जना घाइते भएका छन् । प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् । प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा आगजनी गरेका छ्न् भने १२ वटा मोटरसाइकल तोडफोड भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए।