एपस्टिन काण्डले तान्यो पूर्व राजकुमार एन्ड्रयुलाई, पद दुरुपयोगको मुद्दामा जेल जाने सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
2.3k
Shares
काठमाडौँ । बेलायतका राजा चार्ल्सका भाइ तथा पूर्व राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरेको र कुख्यात यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको गम्भीर आरोपमा उनलाई हिरासतमा लिइएको हो।
थेम्स भ्याली प्रहरीले लामो समयदेखि एन्ड्रयुमाथि लागेका उजुरीहरूको अनुसन्धान गरिरहेको थियो। ६० वर्षभन्दा बढी उमेरका उनलाई नोरफोकबाट पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ। यद्यपि प्रहरीले आधिकारिक विज्ञप्तिमा उनको नाम उल्लेख गरेको छैन, तर बीबीसी लगायतका प्रमुख सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति पूर्व राजकुमार एन्ड्रयु नै भएको दाबी गरेका छन्।
उनलाई पक्राउ गर्न प्रहरीले सादा पोसाक र सङ्केत नभएका सवारी साधनहरू प्रयोग गरेको पाइएको छ। गत वर्ष राजकीय उपाधि गुमाएपछि उनी विन्डसरस्थित 'रोयल लज' छोडेर स्यान्ड्रिङ्घममा बस्दै आएका थिए।
बेलायती राजपरिवारको इतिहासमा कुनै वरिष्ठ सदस्य यसरी पक्राउ परेको यो सम्भवतः पहिलो घटना हो। उनीमाथि राजकीय ओहोदामा रहँदा पदको मर्यादा विपरित कार्य गरेको, यौन अपराधी जेफरी एपस्टीनसँग संवेदनशील र गोप्य सूचनाहरू साझा गरेको र दोषी ठहर भइसकेका यौन अपराधीसँगको निकटता र संलग्नता रहेको मुख्य आरोपहरू लगाइएको छ ।
थेम्स भ्याली प्रहरीका सहायक प्रमुख प्रहरी हवल्दार ओलिभर राइटले विस्तृत मूल्याङ्कनपछि मात्र अनुसन्धान र गिरफ्तारीको प्रक्रिया अघि बढाइएको बताएका छन्। हाल बर्कशायर र नोरफोकका विभिन्न ठेगानाहरूमा प्रहरीले छापा मारिरहेको छ।
एन्ड्रयुले भने सुरुदेखि नै आफू निर्दोष रहेको र कुनै पनि गलत कार्यमा संलग्न नभएको दाबी गर्दै आएका छन्। यो मुद्दा अहिले 'सक्रिय' अवस्थामा रहेकाले अदालतको अवहेलना हुन सक्ने भन्दै प्रहरीले थप विवरण गोप्य राखेको छ। यता राजा चार्ल्सले कानुनी प्रकियालाई सहयोग गर्ने बताएका छन् ।