अब कुनै युवक भदौ २३ जस्तो राज्यको गोलीबाट मारिनु पर्दैन : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
627
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको घटनापछि अब कुनै पनि नकाबधारीले सिंहदरबार जलाउन नपाउने दाबी गरेका छन्।
बुधबार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो प्रतिबद्धता व्यक्त गरे ।
उनले २३ भदौको सुशासनको नारा लगाउँदा कुनै नागरिक राज्यको गोलीबाट पर्न नपरोस् भन्ने प्रतिज्ञा पनि पार्टीले गरेको बताए। सभापति थापाले २३ भदौका विद्रोहका भावनालाई नेपाली कांग्रेसले आत्मसात् गरेको स्पष्ट पारे।
उनले संघीयतालाई जोगाउँदै मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरू समाधान गर्न आवश्यक रहेको बताए।
मधेसकै छोराले विगतमा शक्ति केन्द्रमा रहेकाले पनि अहिले शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि आफू मधेस आएको जिकिर गरे।
सभापति थापाले मधेसको शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपील पनि गरे ।
उनले भने, 'अब कुनै पनि युवक भाद्र २३ गतेजस्तो राज्यको गोलीबाट मारिनु पर्दैन। यो हाम्रो प्रतिज्ञा हो। अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन। भाद्र २३ र २४ गते जुन भावना लिएर तन्नेरीहरू सडकमा थिए, ती सबै भावनालाई नेपाली कांग्रेस ग्रहण गर्छ। संघीयतालाई जोगाउनुपर्नेछ र यसलाई कामकाजी बनाउनुपर्छ। प्रदेश सरकारसँग मिलेर मधेस प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका सबै समस्याहरूको हल गर्नेछौँ।'
सभापति थापाले थपे,- जति पनि मन्त्री र प्रधानमन्त्री भएका छन्, सबैलाई मधेसका छोराहरूले नै पढाएर पठाएको हो। तर आज मधेसको विद्यालयमा गणित र विज्ञानमा कमजोरी रहेको र यदि सुधार भएन भने युवा अवसर गुमाउने अवस्था सिर्जना हुन्छ।
उनले आफ्नो स्वास्थ्यमन्त्री रहँदा शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्ने र पाँच वर्षभित्र यसलाई पूरा गर्ने प्रतिबद्धता दोहोर्याए।
साथै उनले अब कुनै नागरिकले रोगको उपचार गर्दा एक पैसा पनि नतिरी घर फर्किन सक्ने व्यवस्था शुरू गर्ने प्रतिज्ञा गरे।