मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै गगन थापाले के भने ? [भिडियो]
मधेसको बेटा भएर आएको हुँ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
799
Shares
जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीति र विकासको शैली पूर्ण रूपमा बदल्ने 'प्रतिज्ञा' गरेका छन्। मधेसलाई पुनः 'अन्नको भण्डार र ज्ञानको पाठशाला' बनाउने संकल्प गर्दै थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु त्यसको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए। मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ-हानिभन्दा माथि राख्दै उनले यसलाई 'बेटा र माटो' को सम्बन्धका रूपमा व्याख्या गरे।
आफू मधेसको नेता हुन नभई 'बेटा' हुन आएको बताउँदै उनले आफ्नो छातीमा दुर्गानन्द झाको साहस र आँखामा महेन्द्रनारायण निधिको सपना रहेको उल्लेख गरे। अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो पहिचान लुकाउनु नपर्ने र गर्वका साथ 'हम मधेसी छी' भन्न सक्ने वातावरण कांग्रेसले निर्माण गर्ने उनको उद्घोष छ।
ऐतिहासिक सन्दर्भ जोड्दै थापाले राजा जनकको प्रतिज्ञा र भगवान् रामको विजयलाई स्मरण गर्दै कांग्रेसको आगामी यात्रा 'प्रतिज्ञा' मा आधारित हुने बताए। उनले यो प्रतिज्ञा २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर गरिएको अध्ययनको परिणाम भएको जानकारी दिँदै सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो वचनबाट पछि नहट्ने स्पष्ट पारे।
शिक्षा र स्वास्थ्यमा क्रान्ति ल्याउने अठोट गर्दै उनले मधेसको गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे। स्वास्थ्य क्षेत्रमा 'एक रुपैयाँ तिर्नु नपर्ने' स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गर्दै उनले विदेशमा पसिना बगाएर कमाएको पैसा आमाबुबाको उपचारमा सकिने दिनको अन्त्य गर्ने संकल्प गरे।
किसान र वैदेशिक रोजगारीका मुद्दालाई सम्बोधन गर्दै थापाले यस दशकलाई 'किसानको दशक' बनाउने घोषणा गरे। ४ खर्बको कृषि उपज आयात गर्ने देशलाई आफ्नै उत्पादनमा आत्मनिर्भर बनाउने र मधेसका उखु एवं आलु किसानका समस्या समाधान गर्ने उनको योजना छ। वैदेशिक रोजगारीमा रहेका युवाहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गरिने उनले बताए।
निषेधको राजनीतिभन्दा सबैलाई जोड्ने 'टिम नेपाल' को अवधारणा अघि सार्दै थापाले यस टिमले अर्को पार्टीलाई होइन, बरु कुशासन, गरिबी र बेरोजगारीलाई हराउने दाबी गरे। जसमा कांग्रेसले नेतृत्व गरे पनि एमाले, माओवादी, रास्वपा र जसपा सबै अटाउन सक्ने उनको भनाइ छ।
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे 'मधेस-देश' प्रतिज्ञामा प्रत्येक नेपालीले सम्मानित भएर बाँच्न पाउने र आफ्नै जीवनकालमा सपना साकार पार्न सक्ने नेपालको परल्पना गरिएको छ। किसानलाई स्वाभिमानी बनाउने, छोराछोरीको उच्च शिक्षा र निःशुल्क स्वास्थ्य बीमाको ग्यारेन्टी गर्ने तथा प्रशासनिक हैरानीबाट मुक्त विधिको शासन स्थापना गर्ने कुरा प्रतिज्ञापत्रमा समेटिएका छन्।
मौलिक संस्कृतिमा गर्व गर्दै आधुनिक प्रविधिमा लम्कने र विश्वले सम्मान गर्ने स्वतन्त्र देश बनाउने लक्ष्य राख्दै थापाले आफ्ना ३२ जना उम्मेदवारहरूलाई छाती ठोकेर जनताको घर-घर जान र 'बदलिएको कांग्रेस' को सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्।