दार्चुला हत्याकाण्ड: गरगहना लुट्न वृद्धाको हत्या गर्ने दुई युवा पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
709
Shares
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गत सोमबार राति आफ्नै घरमा मृत फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा उनीहरूलाई समातिएको हो।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय उमेश साउद र बैतडीका २३ वर्षकै गोपाल नाथ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरब महतका अनुसार साउद ट्याक्टर चालक हुन् भने नाथ उनका सहयोगी हुन्। मृतक जोशीकै छिमेकी समेत रहेका साउदकै योजनामा यो बीभत्स हत्या र लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अभियुक्तहरूको साथबाट लुटिएका करिब दुई तोला बराबरका सुनका गरगहना समेत बरामद गरेको छ। पक्राउ परेका दुवै जना यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ। साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगिसकेका छन्।
उनीहरू लागुऔषध दुव्र्यसनीमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बयानका क्रममा दुवै जनाले आफ्नो अभियोग स्वीकार गरिसकेका छन् र अहिले प्रहरीले घटनाबारे थप विस्तृत अनुसन्धान गरिरहेको छ।