arrow

नेपालको भविष्य संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ : दाहाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
narayan-dahal-10-26-082.jpg

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक राजनीति त्यागेर संवाद र सुधारको मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् ।

क्लिकमाण्डुद्वारा आयोजित ‘जेन-जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले नेपालको भविष्य विध्वंश र अराजकतामा नभई संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित रहेको बताएका छन् ।

अध्यक्ष दाहालका अनुसार निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो बन्न सक्दैन ।

उनले भदौ २३ र २४ गते भएका घटनाले राष्ट्रिय जीवनमा गम्भीर प्रश्न उठाएको र त्यसले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पुर्‍याएको बताएका छन् ।

भ्रष्टाचार र कुशासनविरुद्ध उठ्ने नागरिक आवाज जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले देशलाई असफल राष्ट्रतर्फ धकेल्ने उनको भनाइ छ ।

उनले ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उद्यमशीलताका क्षेत्रमा नेपालसँग अपार सम्भावना रहेको उल्लेख गर्दै ती सम्भावनालाई लगानीमा रूपान्तरण गर्न विश्वासयोग्य व्यावसायिक वातावरण पहिलो शर्त भएको बताएका छन् ।

अध्ययन प्रतिवेदनले समाजमा व्यवसायीलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक रहेको तितो यथार्थ उजागर गरेको भन्दै अब यो मानसिकता बदल्नुपर्ने समय आएको उनको धारणा छ ।

अध्यक्ष दाहालले नाफा कमाउनु अपराध नभई व्यवसाय सञ्चालनको अनिवार्य आधार भएको बताएका छन् ।

उद्यमीले जोखिम मोलेर कमाएको नाफाबाट पुनः लगानी, रोजगारी सिर्जना र राज्यलाई कर तिर्ने प्रक्रिया चल्ने र त्यसैबाट विकास सम्भव हुने उनको तर्क छ ।

संविधानले परिकल्पना गरेको सार्वजनिक, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै अर्थतन्त्र बलियो बन्न सक्ने उनले बताएका छन् ।

अध्ययन प्रतिवेदन उद्धृत गर्दै अध्यक्ष दाहालले भदौको प्रदर्शनका क्रममा निजी क्षेत्रमा ३४ अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब रुपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको बताएका छन् ।

९८ प्रतिशत व्यवसायीको मनोबल खस्किएको र ९७ प्रतिशतले लगानी वातावरण कमजोर भएको महसुस गरेको तथ्याङ्क अर्थतन्त्रका लागि खतराको संकेत भएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले आन्दोलनका नाममा हुने लुटपाट र आगजनीलाई ‘आततायी विध्वंश’ को संज्ञा दिएका छन् । उनका अनुसार भदौ २३ गतेको आन्दोलन भ्रष्टाचार र जवाफदेहिताको अभावविरुद्ध केन्द्रित भए पनि २४ गतेको विध्वंश त्यसको स्वाभाविक निरन्तरता नभएको छ । उनले यो अराजकता नेपाललाई असफल बनाउने गलत नियतबाट प्रेरित त थिएन भन्ने गम्भीर प्रश्न उठाएका छन् ।

नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा पर्न सक्ने जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले सुशासन र अन्तर्राष्ट्रिय मापदण्डप्रतिको प्रतिबद्धता व्यवहारमै देखिनुपर्ने बताएका छन् ।

राज्यले सुशासन दिन नसक्दा नागरिकमा आक्रोश पैदा हुने भए पनि त्यसको समाधान भौतिक संरचनाको विनाश नभएको उनको तर्क छ ।

अध्यक्ष दाहालले निजी क्षेत्रप्रतिको सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाले लगानीको सुरक्षा, भ्रष्टाचारमुक्त सुशासन र व्यवसायमैत्री कानून निर्माणमा सदैव अग्रसर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ