arrow

रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी : कांग्रेस उम्मेद्वार प्रेमकृष्ण महर्जन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
premkrishna-maharjan.jpg

ललितपुर। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेद्वार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिएका छन् । वर्षौंदेखि ललितपुरबासीका लागि काम गरेको बताएका उनले आफूले बहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गरे ।

‘ललितपुर २ का सबै मतदाताहरूको लामो समयदेखि माया पाइरहेको छु । यतिबेला गगनकुमार थापा सभापति बनेपछि नेपालभर जेन-जीदेखि ६० बर्ष माथिसम्मका पुस्ता उत्साहित छन् । थापा सभापति भएपछि र उहाँलाई भावी प्रधानमन्त्री घोषणा गरेपछि धेरै मतदाता कांग्रेसपति आशावादी भएको देखेको छु,’ उनले भने ।

उनले थपे, ‘हुन त ३५ बर्षको अवधिमा कांग्रेसले केही नगरेको भन्ने सन्देश गएको छ । तर त्यस अवधिमा करिब पाँच बर्षमात्र कांग्रेसले सत्ताको नेतृत्वको गरेको हो। त्यसबाहेक अरुका वर्षहरू अन्य दलहरूले सत्ताको नेतृत्व गरेका हुन् । ललितपुर-२ का सन्दर्भमा कांग्रेसले एक पटक मात्र मौका पाएको छ । त्यसबेला चन्द्र महर्जनलाई मतदाताले अवसर दिए । ०४८ सालपछि अधिकांश वर्ष कम्युनिष्टहरूले प्रतिनिधित्व गरेका हुन् । तर कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।’

पछिल्ला वर्षमा नेपालमा आएका वैकल्पिक वा नयाँ पार्टीहरूको सन्दर्भमा कांग्रेस गम्भीर रहेको उनले उल्लेख गरे । ‘वैकल्पिक भनिएका दलहरू आउनु स्वाभाविक नै छ। चुनाव गराउनुपर्ने मन्त्री मैदान आउनु अस्वाभाविक भएको मतदाताको भनाइ छ । यसमा जनताले फरक ढंगले सोचिरहेका छन,’ उनले भने । पूराना पार्टीहरूको अगुवाइमा आएको गणतन्त्र पूरानै पार्टीले जोगाउने उनले दाबी गरे ।

‘बहुदलीय व्यवस्था, गणतन्त्र र हामी सबैलाई बोल्न पाउने अधिकार दिलाउने पूराना पार्टीहरू नै हुन् । इतिहास मतदाताले बिर्सने छैनन् । संविधान जोगाउन वा व्यवस्था जोगाउन पनि मतदाता सचेत छन्,’ उनले भने ।

ललितपुर-२ मा ८९ हजार बढी मतदाता रहेको जानकारी दिंदै उनले इमाडोल र टीकाथली क्षेत्रमा खानेपानीको समस्या रहेकाले त्यसको सम्बोधन गर्नुपर्ने उनले बताए ।

‘हामीले यस क्षेत्रभित्र खोला किनारमा रहेका नागरिकहरूको सुरक्षा, नदी व्यवस्थापन, वस्ती व्यवस्थापन गर्नुपर्ने वाध्यता छ । त्यसका लागि म तयार छु,’ उनले थप भने, ‘महालक्ष्मी नगरपालिका भित्रको लामाटार क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेर होमस्टेमा काम गर्नुपर्ने छ ।

महानगरभित्रका नौ ओटा वडाका अधिकांश क्षेत्रमा ह्याण्डीक्राफ्ट उद्योगमा धेरै काम गर्नुपर्ने छ। उत्पादित मौलिक र परम्परागत वस्तुहरूको सजह निर्यातमा विशेष भूमिका निर्वाह गर्नुपर्नेछ । मूर्त अमूर्त सम्पदाहरूका लागि बिशेष काम गर्न तयार छु ।’

ललितपुरको परम्परागत रातो मच्छिद्रनाथको रथ तान्नका लागि विदेशी पर्यटकहरूलाई पनि अवसर दिनुपर्नेमा उनले जोड दिए ।

सार्वजनिक खरिद ऐनका कारण ललितपुरबासीले गरिरहेको व्यवसायमा जटिलता निम्ताएकाले त्यसको गाँठो फुकाउन आफूले भूमिका खेल्ने उनले बताए ।

उनले भने, ‘यस्ता समस्याहरूको पहिचान गरी समाधानका लागि महानगरका मेयर चिरीबाबु महर्जनले धेरै काम गर्नुभएको छ । त्यसमा हैंसे थप्नका लागि म विजयी भएर आउनेछु ।’

नेवारी समुदायले संचालन गरेका गुठीहरूको व्यवस्थापन र संरक्षण गर्न स्थानीयलाई नै अधिकार प्रदान गर्नुपर्नेमा उनले जोड दिए । खोला किनारको समस्या समाधानमा आफूले ०२१ सालको नक्शा फिर्ता गरेर सहजीकरण गरेको दाबी गरे ।

नेपाली कांग्रेसको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै उनले आफू १३ बर्षको उमेरदेखि नै समूदायमा अग्रणी भूमिका निर्वाह गरिरहेको दाबी गरे।

‘म १२-१३ बर्षको उमेरदेखि समाजमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको व्यक्ति हुँ । नेपाली कांग्रेसको सिपाही हुँ । चिल्ड्रेन्ट क्लब खोलेर काम गरेको व्यक्ति हुँ, समाजका लागि केही गरौँ भनेर निरन्तर काम गरिरहेको व्यक्ति हुँ । होचु युवा परिवार बनाएर झैझगडा न्यूनीकरण गर्ने, रथ यात्राका क्रममा हुने विवाद अन्त्यका लागि स्वयंसेवक तयार गरेर सक्रिय गराएको व्यक्ति हुँ । लाभको पद कहिल्यै नलिई विकासका काममा निरन्तर सक्रिय छु । अन्य धेरै सामाजिक काममा मैले अग्रणी भूमिका निर्वाह गरिरहेकाले मतदाताको सामिप्यतामा बसेर काम गर्ने मौका पाइरहेछु । अब थप जिम्मेवारी पाउनेछु भन्नेमा विश्वस्त छु ।’

महर्जनले हालसम्म कुनै किसिमको लाभको पद ग्रहण नगर्दा पनि अग्रणी भूमिका निर्वाह गरिरहेकाले प्रतिनिधि सभा सदस्य निर्वाचनबाट विजयी भएमा थप योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ