राप्रपालाई कमजोर ठानी निषेध गरेर नजान राजेन्द्र लिङ्देनको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
703
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेद्वार रहेकी कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको पार्टी भएको बताएका हुन् ।
लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कमजोर ठानेर निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाल्न चेतावनी दिएका छन् ।
उनले पार्टीका नेता ज्ञानबहादुर शाहीमाथि अवरोध सिर्जना गर्ने प्रयास भएको जानकारी आफूले पाइसकेको बताए ।
राप्रपा कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी नभएको र विदेशीको आशीर्वादबाट नभई नेपाली धर्तीमै उत्पन्न भएर संघर्षबाट निर्माण भएको पार्टी भएको उनको भनाइ छ । यस्ता सबै चुनौतीको सामना गर्ने सामर्थ्य राप्रपासँग रहेको उनले बताए ।
अध्यक्ष लिङ्देनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक-पटक अवरोध सिर्जना गर्ने, पक्राउ गर्ने र दुःख दिने काम गरिरहेको आरोप लगाए ।
सरकारले नियतवश नै प्रसाईंलाई निष्क्रिय वा निरुत्साहित बनाउन यस्तो गरेको भन्दै त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टीले घोर निन्दा र भत्र्सना गरेको बताए ।
संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै लिङ्देनले शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कार गर्ने वा विरोध गर्ने अधिकार नागरिकसँग रहेको जिकिर गरे ।
कुनै पनि नागरिकले यो निर्वाचन उपयुक्त छैन, निर्वाचन बहिष्कार गर्छु वा निर्वाचन हुनु हुँदैन भनेर विरोध गर्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै त्यसलाई कसैले रोक्न नमिल्ने बताए । शान्तिपूर्ण हुनुपर्ने शर्तबाहेक विरोध गर्न रोक लगाउने व्यवस्था संविधानमा नरहेको उनको भनाइ छ ।
लिङ्देनले दुर्गा प्रसाईंमाथि सरकारले गरिरहेको व्यवहारलाई ज्यादतीको संज्ञा दिँदै पुनः त्यसको भत्र्सना गरे । देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै उनले मुलुकको निर्णायकत्व नेपाली जनताकै हातमा हुनुपर्नेमा जोड दिए ।
आगामी प्रधानमन्त्री को हुने भन्ने कुरा समेत विदेशी शक्तिले मिलाइदिने अवस्था सिर्जना हुन थालेको टिप्पणी उनले गरे ।
मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका सामग्रीका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न लिङ्देनले आग्रह गरे ।
अध्यक्ष लिङ्देनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेकी कुन्ती पोखरेल निष्ठावान र सेवामा समर्पित व्यक्तित्व भएको दाबी गरे ।
पोखरेललाई मतदान गर्नु भनेको केवल एक व्यक्तिलाई मात्र नभई देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु भएको उनले तर्क गरे ।
निर्वाचन आयोगको आचारसंहिताको सम्मान गर्दै उनले मतदातालाई ‘हलो’ चिन्हमा मतदान गर्न सांकेतिक रूपमा आग्रह गरे ।