काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँ क्षेत्र–४ का पार्टी कार्यकर्ताहरूप्रति आफ्नो गहिरो आभार व्यक्त गरेका छन्। शनिबार पार्टीको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०७० सालमा पहिलोपटक प्रत्यक्ष निर्वाचित हुने लक्ष्यका साथ यसै क्षेत्रबाट उम्मेदवार बनेको आफ्नो अनुभव सुनाए।
उनले २०७४ सालको कठिन निर्वाचनलाई सम्झँदै नेकपा माओवादी र एमाले मिल्दा समेत यहाँका कार्यकर्ताकै ढाढसका कारण आफू संसद् पुग्न सकेको बताए। कांग्रेस देशभर जम्मा २३ सिटमा खुम्चिएको बेला पनि काठमाडौँ-४ ले आफूलाई संसद् पठाएकै कारण आज पार्टीको महामन्त्री र सभापति भएर स्थापित हुने मौका पाएको उनले स्वीकार गरे।
यसपटक काठमाडौँको सुरक्षित क्षेत्र छाडेर सर्लाही–४ जाने निर्णय आफ्नो लागि निकै कठिन र भावनात्मक भएको थापाले सुनाए। उनले सर्लाही जाने कुराले आफ्नो मन रोइरहेको र धेरै वर्षपछि आँसु लुकाउन नसकेको भन्दै भावुक अभिव्यक्ति दिए।
"यसपटक काठमाडौँ सहज थियो, तर म सर्लाही गएँ। यो ठाउँ छाडेर जाँदा मन रोइरहेको छ," उनले भने। निर्वाचन परिचालन मूल समितिको घोषणासँगै उनले कार्यकर्ताहरूलाई पार्टीको चुनावी तयारीमा सुदृढ भएर लाग्न आग्रह गरे। थापाले आफ्नो राजनीतिक उचाइमा काठमाडौँ-४ का कार्यकर्ताको योगदान र साथको विशेष महत्व रहेको कुरालाई पटक–पटक दोहोर्याए।
पार्टीको आन्तरिक लोकतन्त्रका बारेमा बोल्दै सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै कांग्रेसको १५औँ महाधिवेशन भइसक्ने बताए। उनले अबका निर्वाचनमा 'प्राइमरी इलेक्सन' मार्फत वडाबाटै उम्मेदवार छानिने नयाँ व्यवस्था लागू गरिने दाबी गरे। नयाँ अधिवेशनपछि उम्मेदवारको टिकटका लागि कुनै पनि आकांक्षीले सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था अन्त्य हुने र तल्लो तहका साथीहरूले नै आफ्ना उम्मेदवार चुन्ने अधिकार पाउने उनको जिकिर छ। यसले कांग्रेसलाई अझ बढी लोकतान्त्रिक र जगैदेखि बलियो बनाउने विश्वास उनले व्यक्त गरे।