देउवासँग संवादमै छु, कांग्रेस अब एकढिक्का भयो: गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
975
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन्। शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देउवासहितका अन्य नेताहरूसँग पनि नियमित कुराकानी भइरहेको जानकारी दिएका हुन्। मुलुक निर्वाचनमा होमिएकाले सिङ्गो पार्टी पङ्क्तिलाई एकढिक्का भएर प्रचार अभियानमा जुट्न निर्देशन दिँदै उनले अहिले पार्टीभित्र फरक मत राखेर बस्ने समय नभएको स्पष्ट पारे।
पार्टीको अधिवेशनका क्रममा केही अप्ठ्यारा र मनमुटाव देखिए पनि कांग्रेससँग त्यस्ता समस्या झेल्न सक्ने क्षमता रहेको उनको भनाइ छ। थापाले फागुन २१ गतेको निर्वाचनका लागि पार्टी एकजुट भएर अगाडि बढिरहेको उल्लेख गर्दै हिजो को कहाँ उभियो भन्ने आधारमा कसैलाई पनि विभेदपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता जनाए। निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गर्ने जो-कोही नेता वा कार्यकर्तालाई पार्टीले कडा कारबाही गर्ने चेतावनी समेत उनले दिएका छन्।
सभापति थापाले कांग्रेसभित्र अब हिजोका कुरामा अडकिएर बस्ने छुट कसैलाई पनि नभएको र सबै एक मन भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए। निर्वाचनपछि पनि सबै साथीहरूलाई मिलाएर लैजाने र पार्टीलाई थप एकताबद्ध बनाउन आफूले कुनै कसर बाँकी नराख्ने उनले दाबी गरे। नयाँ नेतृत्वको आगमनसँगै कांग्रेसले नयाँ उत्साहका साथ चुनावी मैदानमा आफ्नो उपस्थिति बलियो बनाउने उनको जिकिर छ।