सर्लाही ४ का नागरिक अब सांसद खोज्न काठमाडौँ धाउन पर्दैन : गगन थापा [भिडियो]
'साथीहरूले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो, म दुई दिनको चटक देखाउन आएको हैन, त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु'
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
1.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाही निर्वाचन क्षेत्र नं ४ को जनताको सेवक भएको बताएका छन् । सबै ठाउँमा आफू कांग्रेसको नेता भए पनि सर्लाही ४ को भनर्आ सेवक भएको उनले बताए ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नं ४ मा उम्मेद्वार बनेका थापा सोमबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सो धारणा राखेका हुन् ।
सो क्रममा थापाले सर्लाही ४ का कुनै पनि नागरिकले अब सांसद खोज्न अब काठमाडौँ धाउन नपर्ने स्पष्ट पारे । उनले जनताको सहजताका लागि काठमाडौँमा पनि सम्पर्क कार्यालय खोल्ने जानकारी गराए ।
शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका विषयमा आफूले विशेष ध्यान दिने र अन्यत्रको भन्दा नमूना बनाउने प्रतिबद्धता जनाए । आफूलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको उनले बताए ।
सभापति थापाले आफूलाई विश्वास गर्न आग्रह गर्दै आफूले कसैले शिर निहुराउन नपर्ने गरी काम गर्ने स्पष्ट पारे । थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताए । थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताएका हुन् ।
सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।
नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुनबारे जानकार भएको बताए ।
“अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरूले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”
काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए ।
एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे ।