बंशलालको दाबीः कांग्रेसले जिते देश हराभरा र समृद्ध बन्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
695
Shares
काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
उम्मेदवार परिचयात्मक कार्यक्रममा तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे । उनले सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले जितेमा देशलाई हराभरा र समृद्ध बनाउन सकिने बताए ।
उनले भने, ‘देश बदल्नको लागि हामीले बद्लिनुपर्छ, सोच बद्ल्नु छ । त्यो सोच बदल्नको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ । कांग्रेसलाई जिताउन सक्यौँ भने देशलाई हराभरा बनाउन सकिन्छ । अहिले हामी निर्वाचनको प्रचार गर्ने शैली बदल्ने छौं । हिजोका दिनमा सयौँ गाडी गुडाएर प्रचार गर्ने शैलीले जनताको कति मन जित्न सक्यो यसको पनि समीक्षा गर्न आवश्यक छ ।’
निर्वाचन प्रचारप्रसारको शैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताउँदै उनले विगतमा सयौँ गाडी प्रयोग गरेर गरिएको प्रचारले जनताको कति मन जित्न सक्यो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।
साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।
कार्यक्रममा तामाङले भावी प्रधानमन्त्रीका रूपमा चित्रित कांग्रेस नेता गगन थापाको पनि चर्चा गरे ।
उनले गगन थापा देशभर कांग्रेस जिताउने अभियानमा सक्रिय रहेको र आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ४ छोडेर तराईको सर्लाही क्षेत्र नं ४ बाट उम्मेद्वारी दिएको उदाहरण प्रस्तुत गरे ।
तामाङले थापाको उम्मेद्वारीले नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट हुने भन्दै कांग्रेसका नेता केवल काठमाडौँमा सीमित नभई तराई, पहाड र हिमाल सबैलाई समान रूपमा हेर्नुपर्ने सन्देश दिएको बताए ।
उनले भने, ‘निर्वाचित भएर गएका प्रतिनिधिहरूले कति जनताको काम गर्न सके यो पनि हामीले समिक्षा गर्न जरुरी छ । भावी प्रधानमन्त्री गगन थापा देशभरी कांग्रेस जिताउन लागिरहनुभएको छ । आफ्नो क्षेत्र ४ नं छोडेर उहाँ आज तराई सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्दै हुनुहुन्छ । सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्नु भनेको कांग्रेस पार्टीको दृष्टी, नेपाली कांग्रेसको नेता केवल काठमाडौँलाई मात्र हेर्ने होइन तराई पनि हेर्नुपर्छ, पहाड पनि हेर्नुपर्छ, हिमाल पनि हेर्नुपर्छ भनेर भावी प्रधानमन्त्री आफ्नो क्षेत्र छोडेर तराई रोज्नु भएको छ ।’