arrow

काठमाडौँ ९ का मतदाताका भावना बुझेको र विश्वास जित्ने नानु बास्तोलाको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
nanu-bastola-nc-10-10.jpg

काठमाडौँ । आशन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेद्वार नानु बास्तोलाले आफू सधैँ जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् ।

उनले सत्तामा भए या नभए पनि आफ्ना क्षेत्रका मतदाताहरूसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् ।

‘म कहिल्यै पदका पछि लागिन । किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइए पनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम गरेको छैन र कतै पदको लाभ लिएको पनि छैन् । फ्रेस भएकाले मलाई मतदाताले खोज्नुभएको छ,’ उनले भनिन्,‘म राजनीतिमा परिपक्व युवा हुँ । सधैँ जनतासँगै जोडिएर काम गरेकाले मतदाताले विश्वास गर्नुहुनेछ ।’

आफूले जनताका आवाज लिएर हिडिरहेको र साना भन्दा साना समस्याहरूका समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेद्वार खोजेको उनको भनाइ थियो ।

‘जनताले खोजेको भनेको समृद्धि र विकास हो । म विगतमा पनि विकास निर्माणका लागि धेरै काम गरेको छु । मेरो फोन २४ घन्टा उठ्छ र घरको ढोका जनताका लागि सँधै खुला छ । म आफ्नै व्यवसाय गरेर राजनीति गरेको व्यक्ति पनि भएकाले कुनै प्रलोभन छैन्,’ उनले भनिन्, ‘जनताले यतिबेला खोजेको शुसासन हो र भ्रष्टाचारमुक्त समाज निर्माण हो । त्यसका लागि म अब्बल उम्मेद्वार हुँ ।’

आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताका फरक फरक समस्या र अपेक्षा रहेकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । ‘मेरो क्षेत्रमा काठमाडौँ महानगरका चार ओटा वडा, चन्द्रागिरीका पाँच ओटा र नागार्जुनका पाँच ओटा गरी १४ ओटा वडाहरू पर्ने भएकाले न्यूरोडको ओटुका मतदाताको सोच, अपेक्षा, विकास र भावना अनि भीमढुंगाका मतदाताको भावना र विकासको अपेक्षा फरक-फरक भएकाले सोही अनुसार काम गर्नुपर्नेछ । त्यसैले सबै क्षेत्रका मतदाताको भावना मजाले बुझेर काम गर्न सक्छु,’ उनले भनिन्, ‘यस क्षेत्रको विविधतालाई सम्बोधन गर्न सक्ने व्यक्तिको खोजी पनि भइरहेको छ ।’

राजनीतिमा लागेदेखि आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष जोडिएर काम गरेकाले र विभिन्न संघ-संस्थामा बसेर काम गरेकाले आम मतदाताले नजिकबाट चिन्नुभएकाले यस पटक विश्वास गर्नुहुन्छ भन्ने विश्वास लिएको सुनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ