गगन थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै कांग्रेस चुनावमा होमिने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेस नवनिर्वाचित सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै निर्वाचनमा होमिने भएको छ । कांग्रेसको आजको बैठकले थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावमा होमिन लागेको हो ।
केन्द्रीय कार्यसमितिको बैठक अहिले बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपामा दिउँसो १ बजे डाकिएको भए पनि नेताहरू आउने क्रम जारी रहेका कारण ढिलाइ भएको छ ।
महामन्त्री प्रदीप पौडेलले सभापति थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावमा होमिने बताए ।
सानेपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको चहलपहल रहेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पहिलो पटक पार्टी मुख्यालयमा बस्न लागेको हो । यसअघि गत शनिबार बैठक काठमाडौँको एक ब्याङ्क्वेटमा बसेको थियो ।
सोही कार्यक्रममा निर्वाचित कार्यसमितिले पदबहाली गर्नेछ । केन्द्रीय निर्वाचत समितिले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसमेत वितरण गर्नेछ ।
त्यसपछि सभापति गगनकुमार थापाको अध्यक्षतामा बैठक बस्नेछ । बैठकले निर्वाचन केन्द्रित विभिन्न निर्णयहरू गर्नेछ । साथै विभिन्न उपसमितिहरू बनाउने एजेन्डासमेत रहेको बताइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई कसरी सफल बनाउने भन्नेबारेमा रणनीतिसमेत तय हुनेछ ।
सभापति थापाले सानेपाबाटै देशभरका कांग्रेस नेता तथा कार्यकर्तासँगै मतदातालाई विशेष सन्देश दिनेछन् ।
एक केन्द्रीय सदस्य भन्छिन्, 'जेन-जी आन्दोलनपछि हाम्रो नेताले जुन सन्देश दिइरहनु भएको छ त्यसलाई सफल बनाउन निर्वाचनमा कांग्रेस एकबद्ध भएर लाग्नुपर्छ । विशेष महाधिवेशनपछिको पहिलो सम्बोधनमै कांग्रेसमा गुटउपगुट छैन भनेर भन्नुभएको थियो । शुक्रबारको बैठकबाट सबैलाई बुझ्ने भाषामा मुख्यालयबाटै सभापतिले एकताबद्धका लागि सन्देश दिनुहुनेछ ।'