एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति गगन थापाको अपील [अपीलसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
3.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपील गरेका छन् ।
कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शुक्रबार एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपील गरेका हुन् ।
“नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ”,उनले भने ।
उनले कांग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गरे ।
सभापति थापाले भने, “पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।”
उनले विशेष महाधिवेशनमा सहभागी भएका र भएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको बताए ।
“कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ”, सभापति थापाले भने ।
उनले अहिलेको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वाससमेत लिए ।
सभापति थापाले आजदेखि पार्टीभित्र गुट र भागबण्डा नहुने बताए । जिम्मेवारी फरक भए पनि भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनको भनाइ छ । उनले कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताए ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गरे ।
कांग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उनले बताए ।
“एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ, अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन”, उनले भने, “सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।”
सभापति थापाले हिजोका दिनमा पार्टीका अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिएजसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताए ।
उनले यसका लागि सबैको थप साथ र विश्वास चाहिएको बताए । उनले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गरेका छन् ।
उनले देशभरका नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन अपील गरे ।
यस्तो छ सभापति थापाको अपील
एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !